सूचना तथा समाचार
गाउँपालिकाकाे परिचय
हरिनगर गाउँपालिका नेपालको संविधान बमोजिम कोशी प्रदेश भित्र समेटिएको ३७ जिल्ला मध्ये पूर्वी तराई भूभागमा पर्ने सुनसरी जिल्लाको एक गाउँपालिका हो । यो गाउँपालिका साविकका हरिनगरा, रामनगर भुटाहा, घुस्की, बसन्तपुर गौतमपुर (चोरघटिया) समेत गरी पाँच वटा गाउँ विकास समितिहरुका भूभाग गाभेर यो गाउँपालिका गठन गरिएको छ । नामांकरणका हिसाबले साविकको हरिनगरा गाउँ विकास समितिमा यस गाउँपालिकाको केन्द्र रहेको र सोही "हरिनगरा" भन्ने शब्दलाई आधार मानेर "हरिनगर गाउँपालिका" भन्ने नाम कायम गरिएको छ । भूगोलका हिसावले कुल क्षेत्रफल ५२.२९ वर्ग किलो मिटर रहेको तराइको समथर भूभागमा यो गाउँपालिका रहेको छ जसको पूर्वमा गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पश्चिममा छिमेकी राज्य भारत उत्तरमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका र दक्षिणमा भारत र नेपालकै देवानगञ्ज गाउँपालिका रहेको छ ।
प्रशासनिक विभाजनका हिसाबले भूगोल जनंख्या समेतका आधारमा ७ वटा वडामा विभाजन गरिएको छ जसमा साविकको रामनगर भुटाहाको १, २, ६, ८ र ९ नं वडाका भूभागहरु समेटी १ नं वडा कायम गरिएको छ भने साविकको सोही गाबिसकै ३, ५ र ७ नं वडाका भूभागहरु समेटी हालको २ नं वडा कायम गरिएको छ । यसैगरी साविकको गौतमपुर (चोरघटिया) गाउँ बिकास समितिका १ देखि ९ नं वडाका भूभागहरु समेटेर हालको ३ नं वडा कायम गरिएको छ भने साविकको हरिनगरा गाउँ विकास समितिको १ देखि ९ नं वडाका सबै भूभाव समेटी हालको ४ नं वडा कायम गरिएको छ । यसै गरी साविकको बसन्तपुर गाउँ विकास समितिका १ देखि ९ नं वडाका पूरै भूभाग समेटी हाल ५ नं वडा कायम गरिएको छ भने साविकको घुस्की गाउँ विकास समितिको १, ३, ६, ८ र ९ नं वडाका भूभागहरु समेटी हालको ६ नं वडा कायम गरिएको र सोही गाउँ विकास समितिको बाँकी २, ४, ५ र ७ नं वडाका भूभागहरु समेटी हालको ७ नं वडा कायम गरिएको छ ।
संसदीय निर्वाचन क्षेत्रका हिसाबले संघीय तर्फ १, २, ४, ५, ६ र ७ नं वडा सुनसरी जिल्लाको ४ नं क्षेत्र पर्दछ भने वडा नं ३ भने संसदीय क्षेत्र नं २ मा पर्दछ । यसैगरी प्रदेश संसदीय निर्वाचन तर्फ यस गाउँपालिकाको १, २, ४, ५, ६ र ७ सुनसरी क्षेत्र नं ४ अन्तर्गत "१" क्षेत्रमा पर्दछ भने वडा नं ३ सुनसरी जिल्ला क्षेत्र नं २ को "२" क्षेत्रमा पर्दछ ।